केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सीटीईभीटी ऐन को सट्टामा टीभीईटी विधेयक ल्याउन छलफल सुरु

सहयात्रा टिभी

काठमाडौं । पुस ३, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षासम्बन्धी नयाँ कानुन निर्माणका लागि छलफल सुरु गरेको छ ।

हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ऐन, २०४५’ को सट्टामा टेक्निलकल, भोकेसनल, एजुकेशन एन्ड ट्रेनिङ (टीभीईटी) विधेयक ल्याउन छलफल सुरु गरेको हो ।

अघिल्लो हप्ता शनिबार मन्त्रालयका सहसचिव, कानुन अधिकृत र सीटीईभीटीका पदाधिकारीबीच नयाँ विधेयकको मस्यौदाबारे छलफल भएको थियो ।

सो छलफलमा सीटीईभीटीले डिप्लोमा तहका प्राविधिक तथा व्यवसायिक शैक्षिक कार्यक्रम पढ्न विद्यार्थीको शैक्षिक योग्यता एसईई नै कायम गर्नुपर्ने, हरेक प्रदेशमा प्रादेशिक परिषद् हुनुपर्ने, प्रदेश परिषद्को अध्यक्षता सामाजिक विकास मन्त्रालय अथवा सरोकारवाला मन्त्री हुनुपर्ने र सदस्य सचिव केन्द्रबाट जानुपर्ने सुझाव दिएको छ ।

त्यस्तै टीभीईटीको सदस्य सचिव विशिष्ट श्रेणीको कर्मचारी हुनुपर्ने, परिषद्मा प्रधानमन्त्री अध्यक्ष र कार्यकारी अधिकारसहितको उपाध्यक्ष हुनुपर्ने सुझाव पनि सीटीईभीटीका अधिकारीहरुले दिएका छन् ।

प्रस्तावित विधेयकको मस्यौदामा नर्स, पारामेडिक्स, फार्मेसी लगायतको डिप्लोमा तहका कार्यक्रम पढ्न कक्षा १२ उत्तीर्ण हुनुपर्ने, टीभीईटी सहसचिवको सहसचिव तहको नेतृत्वमा हुने आदि व्यवस्था छ ।

मन्त्रालय स्रोतका अनुसार मस्यौदामा सीटीईभीटी ऐनमा हाल रहेका कुन कुन व्यवस्था राख्नु उपयुक्त हुन्छ भनेर सुझाव लिइएको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा डिप्लोमा तहको नर्सिङ, फार्मेसी, एचए, ल्याब, रेडियोग्राफी लगायतको १७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित : 19 December, 2023

प्रतिक्रिया दिनुहोस्