विद्युत् प्राधिकरणले टीओडी मेटिइसकेको पत्र अदालतलाई पठायो
काठमाडौँ । पुस ११, डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा आधिकारिक निकायलाई टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक उपलब्ध गराउने भनेर सार्वजनिक अभिव्यक्ति दिएको नेपाल विद्युत् प्राधिकरणले अदालतलाई भने त्यस्तो तथ्यांक मेटिइसकेको पत्र पठाएको छ ।
डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवादमा अहिले देशका विभिन्न जिल्ला अदालतहरुमा मुद्दा चलिरहेको छ । अदालतले प्राधिकरणसँग टीओडी मिटरको डेटा माग गरेकोमा प्राधिकरणको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुले त्यस्तो डेटा मेटिइसकेको जवाफ पठाएका हुन् ।
मकवानपुर जिल्ला अदालतले शिवम् सिमेन्ट्सको मुद्दामा ३० साउन २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक माग गर्ने आदेश दिएको थियो ।
त्यस्तै, सुनसरी जिल्ला अदालतले १३ भदौ २०८० मा विद्युत् प्राधिकरणलाई रिलायन्स स्पिनिङ मिल्सको टीओडी डेटा उपलब्ध गराइदिन पत्राचार गरेको थियो ।