सीएनआईले गरेको सर्वेक्षणले अर्थतन्त्र समस्यामा रहेको सार्वजनिक
काठमाडौं । पुष १६ , सरकारले अर्थतन्त्रमा सुधार आएको बताइरहँदा नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एक अध्ययनले भने अर्थतन्त्र समस्यामा नै रहेको देखाएको छ ।
परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको छ । माग घट्नु भनेको वस्तु तथा सेवाको उपभोग घट्नु हो ।
अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आएपनि त्यसको तुलनामा समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको परिसंघको अध्ययनले देखाएको छ ।
नेपाल उद्योग परिसंघले गरेको अर्थतन्त्रबारे चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सर्वेक्षणले उक्त तथ्यांक सार्वजनिक गरेको हो । १०० वटा उद्योगमा गरिएको सर्वेक्षणको आधारमा यो तथ्यांक सार्वजनिक गरिएको परिसंघले जनाएको छ ।
सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको सीएनआईले जनाएको छ ।
सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ % ले घटेको देखिएको छ । यसरी आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ % ले संकुचन आएको हो ।
यसैगरी उद्योगहरूको कारोवार रकम अघिल्लो वर्ष २४.९४% ले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ % ले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो कूल ३०.५४ % ले खुम्चिएको हो ।
‘अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी-व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत रहेको देखिएको छ ।
सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४% उद्योगी-व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२% उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन्,’ सीएनआईको अध्ययनले देखाएको छ ।