गण्डकी विश्वविद्यालयले कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी

काठमाडौँ । पुस २३, गण्डकी विश्वविद्यालयले चाँडै नै कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी थालेको छ ।
विश्वविद्यालयले कार्यक्रमलाई आधार बनाएर त्यहाँ पढाइ हुने सबै संकायको एउटै डिन नियुक्त गरेको थियो ।
फरक विषयलाई पनि एउटै संकायमा राखेर पढाउँदा विद्यार्थीको प्रमाणपत्र नै अवैधानिक हुनेमात्रै नभएर अन्य विश्वविद्यालयले समकक्षताको मान्यता नै नदिने जोखिम बढेको थियो ।
विश्वविद्यालयले त्यहाँ पढाइ हुने खेलकुद व्यवस्थापन (बीएसएम), ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर्स अफ आर्ट्स ब्याचलर्स अफ ल (बीएलएलबी) लाई पनि ‘विज्ञान तथा प्रविधि’ संकायमै राखेर पढाउँदै आइरहेको छ । जबकी बीएसएम र बीबीए व्यवस्थापन संकायअन्तर्गत पर्दछन् भने बीएलएलबी कानुन संकायअन्तर्गत पर्दछ ।
विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सिनाले तत्काललाई कानुन र व्यवस्थापनको डिन नियुक्ति प्रक्रिया सुरु गर्न प्रशासनबाट स्वीकृत भइसकेको जानकारी दिए । उनका अनुसार उक्त निर्णय विश्वविद्यालयको न्यासिक परिषदमा पुगिसकेको छ ।