बम्जनको घरमा भेटिएको पैसा र अन्य सामाग्री 

सहयात्रा टिभी

काठमाडौँ । पुस २५, काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

तपस्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनलाई सिआइबीले सार्वजनिक गरेको छ। उनको घरबाट तीन करोड नेपाली रूपैयाँ,३० लाख बराबरको विदेशी रूपैयाँ, गाडी, ल्यापटप बरामद गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दुराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

मंगलबार सीआईबीले उनी बसेको बूढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी दुई तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।

 

 

 

प्रकाशित : 10 January, 2024

प्रतिक्रिया दिनुहोस्