प्रधानमन्त्री सचिवालयको आकार घटाउने गृहकार्य तीव्र

काठमाडौं । पुष २६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी र स्वकीय सचिवालयको आकार घटाउने गृहकार्य तीव्र भएको छ ।
प्रधानमन्त्रीले आफ्नो कार्याकाल एक वर्ष पुगेको सन्दर्भमा १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सचिवालयको संरचना बदल्ने बताएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार अहिलेसम्म निजी सचिवालयमा विभिन्न मन्त्रालयबाट काजमा गएका आधा कर्मचारी फिर्ता भइसकेका छन् ।
आचार्यका अनुसार स्वकीय सचिवालयमा रहेका अति आवश्यक बाहेकका कर्मचारीलाई पनि माघ १ गतेदेखि बिदाइ हुने गृहकार्य गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
सल्लाहकार सचिवायलयको हकमा भने मन्त्रिपरिषद्बाट निर्णय भएकाले उनीहरूलाई हटाउने विषयमा पनि सोही प्रक्रियाबाट छलफल गरेर मात्रै कार्यान्वयनमा लैजाने तयारी छ ।
त्यसका लागि कि त प्रधानमन्त्रीले मन्त्रिपरिषदबाटै निर्णय गराउनुपर्छ । यसबाहेक सल्लाहकार सचिवालयलाई प्रधानमन्त्री आफैंले बर्खास्त गर्ने वा उनीहरूले राजीनामा दिनुपर्छ ।