मधेशमा मुख्यमन्त्रीले यातायातका कर्मचारी सरुवामा आर्थिक चलखेलको आरोप

सहयात्रा टिभी

काठमाडौं । पुष २६, ३ पुसमा मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुखमा शाखा अधिकृत कमलदास गौतमलाई हटाएर उमेश रेग्मीलाई पठायो ।

यातायात कार्यालयबाटै सरुवा भएर प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र जनकपुरधाममा आएका रेग्मी चार महिनामै पुरानो कार्यालयमा फर्काइएका थिए ।

रेग्मी लामो समयदेखि वीरगञ्जमा सवारी साधन दर्ता गर्ने यातायात व्यवस्था कार्यालयको प्रमुख थिए भने गौतम त्यहाँकै लाइसेन्स हेर्ने यातायात कार्यालय प्रमुख ।

गत साउनमा दुबै कार्यालयलाई गाभेर एउटै बनाएपछि गौतमले प्रमुखको जिम्मेवारी पाए भने १३ भदौमा रेग्मीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा सरुवा गरेको थियो ।

चार महिनापछि रेग्मीलाई पुनः वीरगञ्ज यातायातको प्रमुखमा पठाउँदा आर्थिक चलखेल भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु दाबी गर्छन् ।

यातायात कार्यालयमा हुने अनधिकृत कमाइका कारण विचौलियाले रेग्मीलाई त्यहाँ लैजान आर्थिक चलखेल गरेको स्रोतको दाबी छ ।

आर्थिक चलखेल गरी यातायातमा सरुवा भएर जाने कर्मचारीहरुले बिचौलिया परिचालन गरी सवारी चालक अनुमति पत्र, सवारी सरुवा दर्ता लगायतमा चलखेल गर्दै आएका छन् ।

आर्थिक लाभ लिएर कर्मचारीले यातायात कार्यालयको ढड्डामा नै बिचौलियालाई सवारी दर्ता र चालक अनुमति पत्र दर्ता गर्न छुट दिने गरेको स्रोतको दाबी छ ।

यही अनधिकृत रकम आर्जन गर्न पल्केका यातायातमा काम गरिसकेका कर्मचारी अन्य कार्यालयमा सरुवा भएर जान मान्दैनन् । सरुवा भएपनि आर्थिक चलखेल गरी पुरानै कार्यालय फर्किने गरेका छन् ।

ती कर्मचारीका अनुसार कार्यालयले स्वार्थमा जथाभावी सरुवा गरेका कारण उच्च अदालतमा दुई दर्जनभन्दा बढी सरुवासम्बन्धी मुद्दा विचाराधीन छन् ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले महिना दिनमै सचिव र कर्मचारीको सरुवा गर्दा प्रदेशको काम प्रभावित भएको भन्दै संघीय सरकारमाथि प्रश्न उठाउदै आएका छन् ।

प्रकाशित : 11 January, 2024

प्रतिक्रिया दिनुहोस्