केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतलाई लक्षित गर्दै मालदिभ्सका राष्ट्रपतिले भने- सानो देश हुनुको मतलब कसैले हेप्नुको लाइसेन्स होइन

सहयात्रा टिभी

एजेन्सि । पुस २९, मालदिभ्सका राष्ट्रपति महोमद मैजूले मालदिभ्सको आकार सानो हुनुको अर्थ उसलाई हेप्ने लाइसेन्स नभएको बताएका छन् । भारतलाई लक्षित गर्दै राष्ट्रपति मैजूले यस्तो भनेको मालदिभ्सको अखबार अटोल टाइम्सले उल्लेख गरेको छ । भारतसँगको तनावको आयतन बढिरहेको बेला शनिवार मैजूले यस्तो बताएका हुन् ।

मालदिभ्सको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको राजकीय भ्रमण सकेर ओर्लेर मैजूले पत्रकारहरूसँग आधा घण्टा भएको कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले पत्रकारसँग आफ्नो कुराकानीको बिट मार्दै अंग्रेजी भाषामा भनेका थिए,‘हामी सानो हौँला तर त्यसको मतलब तिमीले हामीलाई हेप्ने लाइसेन्स पाउनु होइन ।’

राष्ट्रपति मैजूले भारतसँगको समस्या बढेसँगै भारतको सहयोग पनि नलिने संकेत गर्दै भारतको सहयोगमा चलेको एयर इम्बुलेन्सलाई हटाएर मालदिभ्सकै ध्वजावाहकबाट त्यो काम सुरु गर्ने बताएका छन् ।

आगामी मार्च १ बाट भारतीय एयर एम्बुलेन्स प्रयोग बन्द हुने उनले बताएका छन् । चीनसँग दिगो खाद्य सुरक्षाको कुरा पनि अगाडि बढेको उनले बताएका छन् । खाद्य आयातको लागी टर्कीसँग सम्झौता भएको भन्दै उनले आगामी महिनाबाट त्यो सुरु हुने बताएका छन् ।

यस्तै, भारतबाट मात्रै एकाधिकारको रूपमा आउने औषधीको खपत कम गर्न युरोप र अमेरिकाबाट सिधै औषधि खरिद गर्ने पनि उनले बताएका छन् । यस्तै हिन्द महासागर बारेमा बोल्दै मैजूले हिन्द भारतलाई संकेत गरेर हिन्द महासागर कुनै एकल देशको सागर नभएको बताएका छन् ।

मालदिभ्समा भएका भारतीय सैनिकहरूलाई हटाउने ‘इन्डिया आउट’ नारा लिएर चुनाव जितेका मैजूले मालदिभ्सका राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भारत गर्ने परम्परा पनि तोडेका छन् । उनले पहिलो राजकीय भ्रमण टर्की गरे ।

पहिलो अनौपचारिक भ्रमण दुबई गरे । त्यो भ्रमणमा उनको भारतीय प्रधानमन्त्री मोदीसँग भेट भएको थियो । दोस्रो राजकीय भ्रमण उनले चीनको गरेका छन् । प्रो चीन भनेर आरोप लाग्न उनले आफू प्रो चीन वा प्रो कुनै देश नभएर प्रो मालदिभ्स भएको केहि दिन अगाडि छापिएको भारतीय मिडिया टाइम्स अफ इन्डियामा दिएको अन्तरवार्तामा बताएका थिए ।

प्रकाशित : 14 January, 2024

प्रतिक्रिया दिनुहोस्