संगीतका अग्रज नोर्बु छिरिङ आप्पाको ७५ वर्षको उमेरमा निधन
सहयात्रा टिभी
काठमाडौं । माघ १, संगीतका अग्रज संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ ।
आज बिहान ललितपुरको हात्तीवनस्थित निवासमा उनको निधन भएको संगीतकार संघले जानकारी दिएको छ ।
उनीसँग दुई दशक सहकार्य गरेका संगीत संयोजक (एरेन्जर) फणिन्द्र राईले पनि आप्पाको निधन भएको बताए ।
पछिल्लो समय अशक्त रहेका छिरिङले कोभिडको लकडाउनपछि बाद्यवादन छाडेका थिए । उनले नारायणगोपाल र म्युजिक नेपालका गीतमा पनि संगीत संयोजन गरेका थिए ।
छिरिङका श्रीमती र दुई छोरी छन् । एक छोरी क्यानडा र अर्की बेलायतमा छन् । दुवै छोरी नेपाल आएपछि बौद्ध पम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।
संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले अमर स्रष्टा छिरिङको निधनले नेपाली संगीत क्षेत्रलाई मर्माहत तुल्याएको बताए ।