चितवन राष्ट्रिय निकुञ्जमा हात्ती धपाउँदै जनता जोगाउने अभियान

सहयात्रा टिभी

काठमाडौं । माघ ५, चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ ।

विशेष गरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि निकुञ्ज अभियानमा लागेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुई हात्ती मेघौली र माडी क्षेत्रमा बस्तीमा पस्न थालेपछि स्थानीयस्तरमा रहेका सेना र निकुञ्जको टोलीलाई सहयोग गर्न थप एक टोली पठाइएको छ ।

विगत तीनरचार दिनदेखि टोली परिचालन गरिएको उनले बताए । हिजोआज धुव्रे र गोविन्दे मेघौली क्षेत्रमा रहेको सूचनाका आधारमा टोली परिचालन गरिएको उनले बताए ।

पश्चिम क्षेत्रमा रहेका दुई हात्तीका कारण निकुञ्ज हुँदै माडी प्रवेश गर्ने सडकमा जोखिम बढेको छ । कहिलेकाहीँ हात्ती सडक आसपासमा भएको सूचनाको आधारमा सवारी आवागमन नै रोकिने गरेको तिवारीले जानकारी दिए ।

उनका अनुसार अन्य समयमा समेत निकुञ्ज पार गर्न मोटरसाइकललाई समूहमा पठाउने गरिएको छ । निकुञ्जमा रहेका चार जङ्गली हात्तीमध्ये पूर्वी क्षेत्रमा मकुना र रोनाल्डो छन् । ती हात्तीले अहिले खासै समस्या नदिएको भए पनि पश्चिम क्षेत्रमा रहेका हात्तीले बस्तीमा पसेर जनतालाई त्रसित बनाउँदै आएका छन् ।

सबैभन्दा लामो दूरी हिँडेर आतङ्क मच्चाउने धुव्रे हात्ती हो । तिवारीले भने, ‘हामीले निकुञ्ज आसपास बस्ने जनतालाई सजग रहन भनेका छौँ । मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजग भएर जान अनुरोध गरेका छौँ ।’

 

प्रकाशित : 19 January, 2024

प्रतिक्रिया दिनुहोस्