अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै
काठमाडौँ ।माघ ८, भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदैछ ।
स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुने बीबीसी हिन्दीले जनाएको छ । यो प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदै हुनुहुन्छ ।
रामललाको जीवन अभिषेक समारोहलाई भव्य बनाउन सबै तहमा तयारी भएको खबरमा उल्लेख छ । कार्यक्रमका लागि गर्भगृहदेखि राम मन्दिरसम्म पूरै फूल र बत्तीले सजाइएको छ । मन्दिर वरपरका पर्खालहरू मूर्तिहरूले सजाइएका छन् ।
राम मन्दिरको उद्घाटन र रामललाको नयाँ मूर्तिको अभिषेकका लागि अयोध्यालाई २५ सय क्विन्टल फूलले सजाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने प्राणप्रतिष्ठा कार्यक्रमलाई लिएर रामनगरीको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
कार्यक्रममा ठूला नेता, उद्योगपति, अभिनेता, कुटनीतिज्ञ, न्यायाधीशलगायत सात हजार जना नागरिक कार्यक्रममा सहभागी हुँदैछन् ।
अयोध्यामा प्राण प्रतिष्ठाको उल्लासमा नेपालका केही स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । कपिलवस्तुको कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिकाले आज सार्वजनिक विदा दिएका छन् ।
यसैगरी रौतहटका विभिन्न पालिकाका राम मन्दिरहरुमा पूजापाठ, सरसफाइ तथा माछामासु र मदिरा बिक्री वितरण बन्द गरिएको छ ।
जनकपुरस्थित जानकी मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । त्यहाँ आज सवा लाख दीप प्रज्ज्वलन गरिँदै छ ।
रामको ससुराली भनेर चिनिने जनकपुरधामस्थित जानकी मन्दिरबाट नेपालका पवित्र जलासयबाट संकलन गरिएको जल र उपहारहरु अयोध्या पठाइएको थियो ।
रामको मन्दिरमा प्रयोग गर्न भनेर नेपालको कालीगण्डकीबाट शालिग्राम समेत अयोध्या लगिएको थियो । तर त्यसको प्रयोग नगरी मन्दिर परिसरमै राखिएको छ ।