औषधि उत्पादनमा गृहकार्य गर्न कर्णाली प्रतिष्ठानलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । माघ १५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधि उत्पादनमा पहल लिनुपर्ने बताएका छन् ।
औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न प्रतिष्ठानलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आवश्यक माग सरकारले सम्बोधन गर्ने आश्वासन समेत दिए ।
कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने वचन दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशी विद्यार्थीहरु पनि आएको जानकारी पाउँदा खुसी लागेको भन्दै उनले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्ने धारणा राखे।
साधन स्रोतको अभावका बीच रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताए ।
चिकित्सक तथा कर्मचारीहरूको वृत्तिविकास लगायतका मागहरू क्रमशः सम्बोधन गर्ने आश्वासन समेत प्रधानमन्त्रीले दिए ।