कर्जा पहुँच बढाउन राष्ट्र बैंकद्धारा पीटूपी प्लेटफर्मको तयारी
काठमाडौँ । माघ १६, बैंक तथा वित्तीय संस्थाको सहभागिताविना कर्जा लिनदिन सकिने वैकल्पिक वित्तीय स्रोतको अनलाइन प्लेटफर्म तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ ।
गत आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूप अध्ययन गर्ने जनाएको थियो ।
‘स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूप जस्तै ‘पियर टु पियर लेन्डिङ’ र ‘क्राउड फन्डिङ’ सम्बन्धमा अध्ययन गरिने छ,’ २०७९/८० को मौद्रिक नीतिमा थियो ।
मौद्रिक नीतिमा उल्लेख भएअनुसार केन्द्रीय बैंकले पहिलो चरणमा पियर टु पियर (पीटूपी) लेन्डिङ र क्राउड फन्डिङका लागि राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रारम्भिक अध्ययनका रूपमा एउटा अवधारणापत्र अगाडि सारेको छ ।
बैंकभन्दा बाहिर रहेर वित्तीय कारोबार गर्न कसरी सकिन्छ भनेर अध्ययन गरिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाजस्तो प्रभावकारी नियमन गर्न नसकिने भएकाले केही बढी जोखिम भने हुने प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।
केन्द्रीय बैंकले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कम हुने र बैंकमा न्यून लागतमा निक्षेप राख्नुपर्ने बाध्यता भएका र बढी जोखिम लिन तयार लगानीकर्तालाई बैंक ब्याजभन्दा बढी प्रतिफल पाउने वैकल्पिक माध्यम हुन सक्ने उनले बताए ।
वित्तीय मध्यस्थता खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो वैकल्पिक वित्त अभ्यास अनुशरण गर्न खोजेको हो । केन्द्रीय बैंकले पीटूपी र क्राउड फन्डिङका सन्दर्भमा अध्ययन गरेको हो ।
नेपालमा पीटूपी लेन्डिङका लागि पूर्वाधार बनाएर मात्रै अगाडि जान सकिने देखिएको श्रेष्ठ बताउँछन् । वित्तीय पहुँचका वैकल्पिक स्रोतले वित्तीय स्रोतमा छिटो पहुँच, वित्तीय सेवा फराकिलो दायरा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ ।
अध्ययन प्रतिवेदनमा भने सुरुवाती चरणमा सानो आकारको कारोबारलाई अनुमति दिने र पछि पूर्णरूपमा सञ्चालन गर्न सक्ने प्रस्ताव गरिएको छ ।
यस्तो सेवा सुरु गरेको खण्डमा वित्तीय पहुँचभन्दा बाहिर रहेका एक तिहाइ नेपालीलाई समेट्न सकिने सम्भावना रहेको अध्ययनले औंल्याएको छ ।