वीपीवाद निर्माणको लागि सातवटै प्रदेशमा अभियान सुरु

काठमाडौं । माघ २१, वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले वीपी कोइरालाको वीपीवाद निर्माणको लागि सातवटै प्रदेशमा अभियान सुरु गरेको छ ।
कांग्रेसमा ओझेलमा पर्दै गएको वीपीको समाजवाद, विचार, अवधारणा पुनरजागरणका लागि वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले अभियान थालेको हो ।
शनिबार जनकपुरमा भएको संस्थाको भेलाले अगामी २९ गते जनकपुरमा मधेश प्रदेशस्तरीय वर्तमान सन्दर्भमा वीपी र समाजवाद विषयको कार्यक्रमको आयोजन गर्ने तय गरेको छ ।
जसमा प्रमुख अतिथिको रुपमा कांग्रेसका नेता शेखर कोइराला सहभागी हुने संस्थाकी केन्द्रीय अध्यक्षसमेत रहेकी कोशी प्रदेशकी प्रदेश सांसद इन्दिरा थापाले जानकारी दिइन् ।
अभियानका संस्थाको मधेश प्रदेश अध्यक्षमा संविधानसभा सदस्य लक्ष्मण रायलाई चयन गरेको छ । यस्तै ९ वटा कार्यक्रम तयारी समितिहरु समेत गठन गरेको छ ।
भोला पंजियारको संयोजकत्वमा ३१ सदस्यीय मूल समिति, संजिव यादवको नेतृत्वमा प्रचारप्रसार समिति, सुरेस कोइरालाको नेतृत्वमा मंच व्यवस्थापन तथा मिथिला साँस्कृतिक कार्यक्रम समिति गठन गरेको छ ।
वीपीवाद निर्माणका लागि कांग्रेस जितेको केही पालिकामा वीपीको समाजवाद अनुसार बजेट विनियोजन गरी परीक्षण गरिने नेता विजयकुमार मिश्रले बताए । त्यसबाट आउने प्रतिफलको राम्रो पक्षलाई उजागर गर्ने उनको भनाइ छ ।