कोशीमा सरकारलाई पूर्णता दिने तयारी

सहयात्रा टिभी

काठमाडौं । माघ २२, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण सम्भव भए आजै सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले बतायो ।

सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।

कांग्रेसबाट प्रदीपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने लगभग पक्का जस्तै छ । कोइराला समूहकै इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी छ ।

सिटौला समूह र सरकार गठनका लागि पार्टी भित्र विद्रोह गर्दा साथ दिएका अन्य सांसदलाई पनि चित्त बुझाउनुपर्ने भएका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।

नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्ने भएका छन् । उदयपुरका नारायण बुर्जामगरको नाम फाइनल भएको छ ।

प्रकाशित : 5 February, 2024

प्रतिक्रिया दिनुहोस्