गौतमबुद्ध क्रिकेट रंगशाला थप निर्माण गर्न टेण्डर आह्वान गरिने

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ ।

रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने गरी प्रक्रिया सुरु गरेको छ ।

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मंगलबार रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार रंगशाला निर्माणको पहिलो चरणको कामका लागि टेण्डर आह्वान गर्ने अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि सम्पूर्ण डकुमेन्ट र अरु प्रक्रिया पूरा गरिएको उनको भनाइ छ ।

रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने भरतपुर महानगरपालिकाले गर्ने सहमति छ ।

धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।

फाउण्डेसनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) परिमार्जन गरी केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको उनको भनाइ छ ।

डीपीआर नयाँ निर्माण संहिता अनुसार परिमार्जन गरिएको र यसअघि निर्माण भइसकेका संरचनाको लोड थेग्ने क्षमताको समेत जाँच गरिएको अर्यालले बताए ।

निर्माणका लागि थप स्रोत जुटाउन नसकेपछि फाउण्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो ।

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्