बिस्केट जात्राका लागि डोजर र क्रेन लगाएर सल्लाघारी वनबाट लिङ्गो ल्याइयो

सहयात्रा टिभी

काठमाडौं । माघ २५, भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो भेलुखेलको योसिङ्खेलमा ल्याइएको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर लिङ्गो ल्याइएको हो ।

तान्त्रिक विधिअनुरुप भक्तपुरमा नौ दिन आठरातसम्म सञ्चालन हुने बिस्केट जात्रामा चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाइन्छ भने त्यसको भोलिपल्ट अर्थात् वैशाख १ मा लिङ्गो ढालेर भव्यरुपमा जात्रा मनाउने परम्परा छ ।

सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो, नाङ्लो जत्रो गोलाइको लिङ्गो काटेर मानिसको हातले तानेर ल्याउने मल्लकालीन परम्परा अहिले तोडिएको छ ।

चैत २७ गतेदेखि शुरु हुने बिस्केट जात्राका लागि अत्यावश्यक लिङ्गो डोरी लगाएर हातले तान्ने परम्परा जनशक्ति अभाव भएको भन्दै गुठी संस्थानले डोजर र क्रेनको सहयोगमा तानेर ल्याइएको हो।

 

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्