जंगली गैंडाको आक्रमणबाट घाइते दुलर्भ एकसिङ्गे गैंडा निको हुँदै

सहयात्रा टिभी

काठमाडौं । माघ २६, चितवनको प्रमुख पर्यटकीय नगरी सौराहामा देखिने दुलर्भ एकसिङ्गे गैंडा हो, मेघौली ।

सौराहाको मुख्य सडकमा निस्फिक्री हिड्ने मेघौली जंगली भाले गैंडाको आक्रमणबाट घाइते भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक अमिर सडौलाका अनुसार यो गैंडालाई केहीदिन अगाडि जंगली गैंडाले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते मेघौली केहीदिन राम्रोसँग उठन पनि सकेन ।

संरक्षणकोषमा नै पालेर हुँर्काएको हुनाले चिकित्सकहरुलाई उसको सबै आनीवानी थाहा छ । सोही कारण चिकित्सक टोलीले नलठ्याइकन सुईबाट एन्टिवायोटिकहरु दिने काम गरे ।

मेघौलीको शरिरका विभिन्न भागमा जंगली गैंडाले टोकेका घाउहरु छन् । अहिले घाउहरु विस्तारै निको हुँदै गएका छन्, अलि अलि बाहिर हिड्न पनि थालेको छ । बेलाबेलामा बेटाडिन छर्किने र मल्हम लगाउने काम गरिएको डा. सडौलाले जानकारी दिए ।

२०७४ सालमा चार वर्षको उमेरको गैंडाको केटो अलपत्र अवस्थामा पश्चिम चितवनको मेघौलीमा फेला परेपछि संरक्षण कोषमा ल्याएर हुर्काइएको थियो । मेघौलीमा भेटिएको हुनाले यसको नाम पनि मेघौली नै राखिएको डा. सडौला बताउँछन् ।

कोषमा हुँर्काएको हुनाले १/२ दिन बिराएर कोषको वरपर नै आएर बास बस्ने गर्छ भने कहिले चित्रसारी पुलतिर त कहिले सपना भिलेज वरपर देखिन्छ । पार्क सफारी होटल नजिकैको बालुवामा दिनभर घाम ताप्न रुचाउने मेघौली ९ वर्षको भयो ।

प्रकाशित : 9 February, 2024

प्रतिक्रिया दिनुहोस्