प्रधानमन्त्री प्रचण्डद्धारा त्रिविको उपकलुपतिका लागि छलफल सुरु

काठमाडौं । फागुन ८, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका उपकलुपतिका लागि छलफल सुरु गरेका छन् ।
कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म उपकुलपतिबारे निर्णय भने गरिसकेका छैनन् । गोरखा पत्रकार समाजका नयाँ कार्यसमितिसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले उपकुलपतिबारे मंगलबार निर्णय हुने सम्भावना कम रहेको बताएका हुन् ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको समितिले आइतबार साँझ ३ जनाको नाम सिफारिस गरेको थियो, जसमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमला छन् ।
सत्तारुढ माओवादीको एउटा पक्षले बुढाथोकीको पक्षमा लबिइङ गरिरहेको छ भने अर्को पक्षले बरालको पक्षमा ।
कतिपय प्राज्ञहरुले छनोट प्रक्रियामै प्रश्न उठाएका छन् । त्रिभुवन विश्वविद्यालयको छवि सुधार्न राजनीतिबाट टाढा राख्नुपर्ने र प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर बोर्ड अफ ट्रस्टीमा लैजानुपर्ने उनीहरुको जोड छ ।
प्रक्रिया सकारात्मक मान्नेहरुले भने सिफारिस भएका नामलाई लिएर आशंका व्यक्त गरेका छन् ।
उपलुकपतिका लागि तेस्रो नम्बरमा सिफारिस प्रा.डा. टंकनाथ धमला केन्द्रीय गणित विभागका पूर्व विभागीय प्रमुख हुन् । उनी २०६४ सालदेखि ७० सालसम्म कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग प्रमुख थिए ।
सन् १९८९ मा गणित विषयमा उत्कृष्ट भएका स्वर्ण पदक जितेका उनले जर्मनीबाट पीएचडी र क्यानाडाबाट पोस्ट पीएचडी गरेका छन् । कुनै समय एमाले निकट रहेका उनी पछिल्लो समय त्यति सक्रिय नरहेको निकटवर्तीहरु बताउँछन् ।