गोरखा मीरकोटस्थित विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरवाही
काठमाडौं । फागुन ८, पालुङटार नगरपालिका–१० मीरकोटस्थित विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरवाही भएको पाइएको छ ।
करिव चार सय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् ।
यसअघि मन्दिरको ऐतिहासिक बुट्टा भएको टुँडाल समेत गायब बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताए । यसले मन्दिरको ऐतिहासिक स्वरुप नै गुमेको भन्दै पुजारी गिरीको भनाइ छ ।
मन्दिरमाथि झिँगटी छाउँदा चार कुनामा कुखुराको भाले आकारको संरचना राखिएकोप्रति पनि स्थानीयले असन्तुष्टी जनाएका छन् । वडाध्यक्ष ऋषिराज धौरालीले पनि पुनर्निर्माणमा लापरवाही भएको बताए ।
२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर गोरखा संग्रहालय रेखदेख गर्ने गरी २०७८ असार १३ गते ठेक्का सम्झौता भएर काम अघि बढेको थियो । मन्दिर पुनर्निर्माणको जिम्मा छायाश्वरी न्यू केपी जेभीले पाएको बताए ।
भूकम्पअघि नै जीर्ण भएको मन्दिर सुरुमा स्थानीय बासिन्दाले आफ्नै हिसाबले मर्मत गर्दा टुँडाल बिग्रिएको अधिकारीले बताए । स्थानीयले मन्दिर मर्मत गर्दा छानाको आकार सानो बनाउँदा टुँडाल पनि काटेर छोटो बनाएको पाइएको उनको भनाइ छ ।
‘पछि हामीले पुनर्निर्माण गर्ने बेला त्यो टुँडाल फिट भएन, धमिराले खाएर बुट्टा हराइसकेको थियो, त्यसलाई आवश्यक ट्रिटमेन्ट सहित पुरानै बुट्टा भरेर प्रतिस्थापन गर्दै लाने भनेर त्यो बेला सामान्य टुँडाल हालेका हौं’, अधिकारीले भने ।
हाल पुरानो टुँडाललाई वडा कार्यालयको सिफारिसमा गोरखा संग्रहालय परिसरमा राखिएको उनले जानकारी दिए । ‘पुरानै स्वरुपमा कार्भिङ गरेर त्यो मन्दिरमा राख्ने हो’, अधिकारीले भने ।
मन्दिरको टुँडाल पुनर्स्थापना, कपाउण्ड निर्माण लगायतको काम गर्न यो वर्ष ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए ।
मन्दिरमा कुखुराको भाले आकारको संरचना पहिले पनि भएको अधिकारीले बताए । ‘त्यो भागमा राख्ने एउटा झिंगटी हुन्छ, जसलाई गंगचा भनिन्छ । त्यो भनेको नेवारीमा कुखुराको भाले हो । त्यो चरा जस्तो आकारको हुन्छ र त्यो राख्ने चलन पनि छ’, उनले भने ।