हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख भोजराज बिनाडीको सरुवा

काठमाडौं । फागुन १५, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज बिनाडीको सरुवा भएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुले ११ फागुनमा प्रमुख बिनाडीलाई कार्यालयको रिक्त रहेको सञ्चालन महाशाखा उपनिर्देशकमा सरुवा गरेको हो । निमित्त महाप्रबन्धक सञ्जयलाल मानन्धरले बिनाडीसँगै सहायक निर्देशक निमेश अधिकारी र अधिकृत दीपकराज आचार्यको सरुवा भएको हो ।
अधिकारीलाई औद्योगिक क्षेत्रको योजना तथा विकास विभागको सहायक निर्देशकमा पदस्थापन गरिएको छ । यसैगरी, लेखा अधिकृत आचार्यलाई बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा सुरुवा गरिएको हो ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा १० माघदेखि कर्मचारीहरु प्रमुख बिनाडीविरुद्ध आन्दोलनरत थिए । कर्मचारी संघ इकाई समितिले १५ माघ र २८ माघमा दुई पटक लिमिटेडलाई पत्र लेखेर प्रमुख बिनाडीको सरुवा माग गरेको थियो ।
कर्मचारी र प्रमुखबीच द्वन्द्व बढेपछि २७ र २८ माघमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक सञ्जयलाल मानन्धर र कामु निर्देशक राजेन्द्रप्रसाद कँडेल हेटौंडा आएर छलफल गरेका थिए ।
मानन्धर र कँडेलले विवाद समाधान गर्न नसकेपछि एकैपटक तीन जनाको सरुवा भएको स्रोतको भनाइ छ ।
कर्मचारीहरुले एक महिनासम्म कालो पट्टी बाँधेर काम गरेका थिए । प्रमुख बिनाडीले कार्यसम्पादन मूल्यांकनमा नम्बर घटाइदिएपछि विवाद सुरु भएको एक कर्मचारीले जानकारी दिए ।
बिनाडीमाथि कर्मचारीलाई अपशब्द प्रयोग गरेको, कार्यसम्पादन मूल्यांकन नम्बर घटाएको, मनमौजीसँग स्पष्टीकरण सोधेको, कर्मचारीलाई सामान्य कुरामा प्रहरी चौकीमा पुर्याएको, कारबाही गर्नुपर्ने उद्योगलाई उन्मुक्ति दिएको आरोप कर्मचारीहरुले लगाएका थिए ।