पोखरामा आएका पर्यटकलाई दुःख दिएको आरोपमा ९ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, पोखरा आएका पर्यटकलाई आफ्नो होटलमा लैजान पिछा गरेर दुःख दिएको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।

पोखरा आएका पर्यटकलाई आफ्नो होटलमा लैजान पिछा गरेर दुःख दिएको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्ने भएको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पोखरामा पर्यटकलाई दुःख दिएको आरोपमा पछिल्लो डेढ महिनामा १८ जनाभन्दा बढी पक्राउ परिसकेका छन् ।

यसरी पक्राउ पर्नेहरु होटलमा ग्राहक लगिदिएवापत कमिसन लिने विचौलियाहरु हुन् । उनीहरुले पोखरा प्रवेश गर्ने मुख्य नाकामा बसभित्रै गएर पर्यटक भेटेर आफ्नो होटलमा लैजान जोडबल गर्छन् ।

त्यस क्रममा उनीहरुले कानुनले निषेध गरेका क्रियाकलाप पनि गर्न पाइने आश्वासन दिने गरेको एक व्यवसायीले बताए । यस्ता बिचौलियाले ठूलो समूहमा आउने भारतीय पर्यटकलाई बढी लक्षित गर्ने गरेका छन् ।

विचौलियाहरुले आफूले भनेकै होटलमा लैजान जबर्जस्ती गर्ने, झोला तान्ने, जान राजी नभएमा धम्क्याउनेसमेत गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।

लेकसाइडस्थित होटल स्नोल्याण्डका सञ्चालक गणेशबहादुर थापाले पोखरा आउने पर्यटकसँग बसपार्क र चोकचोकमा बार्गेनिङ गरेर दुःख दिने गरेको पाइएको बताए ।

पोखरा बसपार्क, पृथ्वीचोक, अमरसिंह चोक, बिरौटा, छोरेपाटनलगायत ठाउँमा होटलका प्रतिनिधि गौंडा कुरेर दुःख दिने गरेको गुनासो धेरै आएको प्रहरीको भनाइ छ ।

तर, होटल प्रतिनिधिले बाटोबाटोमै पर्यटकसँग मोलमोलाई गर्दै दुख दिएको आरोप लागेपछि गत जेठमै विज्ञप्ति जारी गर्दै उक्त आरोपको खण्डन गरेको थियो ।

समितिले संस्थाका सदस्यहरुले पर्यटकको झोला तान्ने, पर्यटकलाई जबर्जस्ती होटल लैजाने, मोलमोलाई गर्ने र आक्रमण शैलीमा स्कर्टिङ गर्ने जस्त काम नगरेको स्पष्टीकरण दिएको थियो ।

 

प्रकाशित : 29 February, 2024

प्रतिक्रिया दिनुहोस्