पंखामा झुन्डिएको अवस्थामा मृतक बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने
काठमाडौं । फागुन १८, चितवनको छात्रावासमा पंखामा झुन्डिएको अवस्थामा मृतक बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ।
मृतक बालिकाको परिवारले चितवनमा पोष्टमार्टम गर्न शंका व्यक्त गरेपछि उनको शव काठमाडौँको टिचिङ अस्पतालमा पठाइएको हो।
अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय टाँडीले पोष्टमार्टमको रिपोर्ट आउन समय लाग्ने भएकोले सोमबारसम्म रिपोर्ट आएपछि अनुसन्धान थप अगाडि बढ्ने जनाएको छ।
गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया सालिन पोखरेल नाम गरेकी छात्रा झुण्डिएकाे अवस्थामा भेटिएकाे इलाका प्रहरी कार्यालय टाँडी चितवनले पनि पुष्टि गरेको छ ।
उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।
चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखिने भएको छ।