संसदीय समितिले शालिनको मृत्युबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । फागुन २०, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटना गम्भीर ढङ्गले छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकले बालिकाको मृत्युबारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।
समितिले विद्यालय तथा छात्राबासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्राबासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्न निर्देशन दिएको छ ।