पशुपतिमा महाशिवरात्रि पर्वको लागि तयारी अन्तिम चरणमा
काठमाडौं । फागुन २२, जिल्ला प्रशासन कार्यालय काठमाण्डौले महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा पाँच दिन मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेचबिखन गर्न र खान निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना निकालेर भोलि फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपास कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न आग्रह गर्नुभएको हो ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम यस्ता गतिविधि पूर्ण रूपमा रोक लगाएको हो ।
सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको उल्लेख छ ।
फागुन २५ गते महाशिवरात्री पर्व मनाइँदैछ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि २०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कोषका अनुसार शिवरात्रिमा ६ हजार स्वयमसेवक परिचालन हुनेछन् ।
स्थानीय सङ्घ संस्थाहरुले स्वयमसेवक परिचालन गर्नेछन् । यो वर्ष भारतबाट साधुसन्तहरु झण्डै ४ हजार जनाको सङ्ख्यामा आउने प्रक्षेपण कोषले गरेको छ ।