सडक नै नभएको ठाउँमा पुल हाल्ने ३ कर्मचारीलाई अदालतबाट सफाइ

काठमाडौं । फागुन २३, गोरखामा सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार अनुसन्धान आयोगले मुद्धा दायर गरेका ३ कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाले मंगलबार सफाइ पाएका हुन् ।
गोरखा नगरपालिकाको वडा नम्बर ३ र सिरानचोक गाउँपालिका– ५ जोड्ने जरेवरस्थित दरौँदी खोलामा बद्नियतपूर्वक पुल हालिएको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
सडक नै नभएको ठाउँमा ५ करोड ३९ लाखमा निर्माण गरिएको ५० मिटर लामो पुल बनाइएको अभियोगमा अख्तियारले राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो ।
निमित्त निर्देशक श्रेष्ठमाथि गुरुयोजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै ५ लाख ७१ हजार विगो मागदाबी गरेको थियो भने सिनियर डिभिजन इन्जिनियर ओमराजमाथि बदनियतपूर्वक गुरुयोजना बनाएको आरोप थियो ।