विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा नर्सको शव भेटियो
काठमाडौं । चैत २, विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा स्टाफ नर्सको शव भेटिएको छ ।
विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
डीएसपी दाहालका अनुसार उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ ।
हत्यामा संलग्नको खोजी भइरहेको उनले बताए । उनको हत्यामा प्रेमीको शंलग्नता भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।