सुन तस्करी प्रकरणमा महरालाई कारबाही शुरु गर्न गृहमन्त्रीको निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी कारबाही शुरु गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले छानबिन आयोगको राय सिफारिसअनुसार महरालाई मुद्दा चलाउन र थप अनुसन्धान गरेर कानुनी कारबाही गर्न निर्देशन दिनुभएको हो ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

तस्करसँग कैयौँ पटक कृष्णबहादुर महराले पनि टेलिफोनमा कुराकानी गरेको प्रमाण प्रहरीसँग सुरक्षित रहेको छ । प्रहरीले यसअघि महरासँग बयानसमेत लिएको थियो ।

यसैबीच गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग पनि बयान लिन सीआईबीलाई निर्देशन दिनुभएको छ ।

 

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्