रुसले नेपाली सेनाहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दियो : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । चैत ५, रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यद्यपि यसको मोटालिटी तय हुन बाँकी रहेको बताए ।
सोमबार संसदमा परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्ने बारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ ।
तर, त्यसको मोडालिटी तय हुन बाँकी छ । यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलो गरिरहेको छ ।’
परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी भएकालाई नेपाल फर्काउन पनि मन्त्रालयले उच्च प्राथमिकता दिइरहेको बताए । यस सन्दर्भमा आफ्नो नीतिलाई स्पष्ट पार्दै नेपालीलाई त्यसबाट मुक्त गर्न र अन्य आवश्यक विषयमा पनि पहल कदमी लिँदै अगाडि बढिरहेको उनको भनाइ छ ।
पहिले भएको सम्झौता अन्तर्गत केही मित्र राष्ट्रको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन नदिने नेपाल सरकारको नीति रहेको कुरा सम्बन्धित सबै राष्ट्रलाई स्पष्ट गराएको पनि श्रेष्ठले संसदमा जानकारी गराए ।
उनले रुसी सेनामा नेपालीको ज्यान गएको बारेमा औपचारिक रुपमा सरकारलाई जानकारी प्राप्त भएपछि नेपाल सरकारले रुसी सरकार समक्ष लिखित र मौखिक रुपमा आफ्नो माग प्रस्तुत गरेको जानकारी श्रेष्ठले संसदलाई गराएका छन् ।