माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग

काठमाडौँ । चैत ८, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् ।
पार्टीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘अन्तिम समयमा गत २८ फागुनमा मैले अध्यक्ष कमरेडसँग लामो समय बसेर समस्याबारे छलफल गरेँ ।
उहाँले निकै गम्भीर भएको जस्तो गर्नुभयो’, उनले भने, ‘तर त्यसपछि कार्यविभाजन गर्दा पुरानै समस्या दोहोर्याएको उल्लेख गरेका छन् ।
उनले आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएर नाम मात्रैको नेता बनाएको उनको भनाइ छ ।
पछिल्लो समय जनतासँग जाँदा पार्टीका पदाधिकारी तहकै नेताहरूमाथि प्रश्न उठ्ने गरेको, तर आफूले उनीहरूलाई दिने जवाफ पनि नभएकाले अब यो पार्टी नैतिक हिसाबले पूर्णरूपमा संकटग्रस्त भयो भन्ने निष्कर्षमा आफू पुगेको उनको भनाइ छ ।