उदयपुर र हेटौंडा सिमेन्ट उद्योग चलाउन छिट्टै टुंगो लगाइने
काठमाडौँ । चैत ८, नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौंडा सिमेन्ट उद्योग चलाउन छिट्टै टुंगो लगाउने बताएका छन्।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बिहीबार भएको छलफलमा मन्त्री भण्डारीले यस्तो बताएका हुन्।
समितिमा उदयपुर सिमेन्ट उद्योग र हटौंडा सिमेन्ट उद्योग व्यावसायिक रूपमा सञ्चालनको लागि कार्ययोजना पेश भएको छ।
उद्योग मन्त्रालयका इन्जिनियर खगेन्द्र बहादुर बस्नेतको संयोजकत्वमा बनेको पाँच सदस्यीय विज्ञ टोलीले कार्ययोजना पेश गरेको छ।
टोलीले लगभग बन्द हुने अवस्थामा रहेको उदयपुर सिमेन्टमा प्राविधिक सुधार गर्न सकिए दैनिक एक हजार एक सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सकिने प्रतिवेदन पेश गरेको छ।
हेटौंडा सिमेन्ट उद्योगले पनि उद्देश्य अनुसार उत्पादन गर्न नसकिरहेको अध्ययनको निष्कर्ष छ।
यी उद्योगहरूले वर्षमा तीन सय दिन पनि उत्पादन गर्न नसकिरहेकोले नोक्सानमा देखिएको हो। हाल यी उद्योगहरू सरदर एक सय २० दिन मात्रै सञ्चालन हुने गरेका छन्।