अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी रणनीति बनाउन सांसदको सुझाव

काठमाडौं । चैत १८, सांसदहरुले सरकारले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता कार्यान्वयनमा रणनीति निर्माण गर्न नसकेको बताएका छन् ।
आइतबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता संसदबाट अनुमोदन गर्न छलफलका लागि गरेको प्रस्तावमा सांसदहरूले रणनीति समेत बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।
अहिलेसम्म यस गठबन्धनमा १०८ राष्ट्रले हस्ताक्षर गरिसकेका छन् भने ९७ राष्ट्रले अनुमोदन समेत गरिसकेका छन् । नेपालले पनि यस गठबन्धनमा हस्ताक्षर गरिसकेको छ तर अनुमोदन गरेको छैन । अहिले अनुमोदनका लागि संसदमा छलफल अघि बढाएको हो ।
छलफलमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सन् २०३० सम्ममा सौर्य उर्जामा हजार बिलियन अमेरिकी डलर लगानी गरेर एक अरब मानिसलाई स्वच्छ उर्जाको पहुँच उपलब्ध गराउने मुख्य उद्देश्य रहेको यस गठबन्धन सहभागी हुनु स्वागतयोग्य रहेको बताए ।
‘यसलाई पास गर्दा अन्तर्राष्ट्रिय लगानीलाई नेपालमा भित्र्याउने र ग्रिन इनर्जी र क्लिन इनर्जीको गन्तव्यमा नेपालले योगदान गर्न सक्ने भएकाले अनुमोदन गर्नुपर्छ’, सासंद सापकोटाले भने ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गठबन्धनमा सहभागी हुनु सकारात्मक भएको र यसले जल पर्यटनलाई अगाडि बढाउन सहयोग पुग्ने धारणा राखिन् ।