रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय हस्तक्षेपको विरोध गर्दै बुटवलमा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । चैत २६, त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय हस्तक्षेपको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठनले बुटवलमा प्रदर्शन गरेको छ ।

अखिल नेपाल विद्यार्थी युनियन समाजवादीको अगुवाइमा बुटवल बहुमुखी क्याम्पसदेखि गोलपार्कसम्म प्रदर्शन भएको हो ।

सहभागीहरूले ‘रजिष्ट्रार नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘खुला प्रतिस्पर्धाबाट नियुक्ति गर’, ‘समाजवादी शिक्षा नीति लागू गर’, ‘उत्तर पुस्तिका हराउनेमाथि कारबाही गर’, ‘परीक्षाको नतिजा समयमै प्रकाशित गर’ लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि भएको कोण सभामा बोल्दै अखिल नेपाल विद्यार्थी युनियन समाजवादीका केन्द्रीय सदस्य विज्ञान सीले उपकुलपति प्रा.डा. केशरजंग बरालले रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिलाई रोकेर प्रधानमन्त्रीले दलीय भागबन्डामा नियुक्त गर्न चलखेल गर्नु आपत्तिजनक भएको बताए ।

आफ्नो संगठनले त्रिविमा भइरहेको राजनीतिक भागबन्डा र हस्तक्षेपविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय २०८० पुस १२ गतेदेखि रजिष्ट्रारविहीन छ । रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिष्ट्रार तोकेको छ ।

त्रिविका उपकुलपतिले रजिष्ट्रार र रेक्टर पद रिक्त भएपछि चैत ६ गते सूचना जारी गर्दै ७ दिनभित्र बायोडाटा बुझाउन आवेदन माग गरेका थिए ।

सोहीअनुसार उपकुलपति प्रा.डा. केशरजंग बरालले चैत १५ मा रेक्टरमा प्रा.डा. खड्ग केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजालको नाम त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सिफारिश गरेका छन् । तर नियुक्ति प्रक्रिया अघि बढेको छैन ।

प्रकाशित : 8 April, 2024

प्रतिक्रिया दिनुहोस्