काठमाडौंमा आज राप्रपाले जनप्रदर्शन गर्दै, विशेष सुरक्षा प्रबन्ध

काठमाडौं । चैत २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निकै महत्व दिएको काठमाडौं केन्द्रित बृहत जनप्रदर्शन आज आयोजना हुँदैछ ।
गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले यसको उत्कर्षस्वरुप आज काठमाडौंमा शक्तिप्रदर्शन गर्न लागेको हो ।
जनसहभागीता र जनपरिचालनका लागि काठमाडौं, ललितपूर र भक्तपुरमा दिनहुँजसो बैठक, घरदैलो र कोणसभाहरु भइरहेका छन् । उपत्यकाका सबै नगरपालिकामा आन्दोलन कमाण्डर तोकिएका थिए । वडामा समिति गठन गरिएको छ । राप्रपाले आफ्ना विभिन्न संगठन, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरेको छ । काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाको तयारी छ ।
जिल्लाका प्रतिनिधिहरूलाई आन्दोलनसम्बन्धी प्रशिक्षणसमेत दिएको राप्रपाको जनप्रदर्शनमार्फत आफ्नो मागमा सरकारलाई घुँडा टेकाउने दाबी गरेको छ ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत विषय छन् ।
राप्रपाले जनप्रदर्शनमा सहभागी हुन उपत्यकाबाहिरबाट पनि मानिसहरु ओसारिरहेको छ । कम्तिमा ५० हजार मानिसहरु काठमाडौंका सडकमा उतार्ने राप्रपाले तयारी गरेको छ । यसअघि व्यवसायी दुर्गा प्रसाईंले एक्लै हजारौंको भिड जम्मा गरेकाले पनि राप्रपा महत्वाकांक्षी बनेको हो ।
विरोध र सभा सम्मेलन गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै घोषणा गरिएको निषेधित क्षेत्र राप्रपाले नमान्ने अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा गरेका छन् ।
उपत्यकामा विशेष सुरक्षा प्रबन्ध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधाज्ञा तोड्ने गरी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने जनाएको छ । राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरुलाई काठमाडौंमा ओसारेको छ ।
राप्रपाले प्रदर्शनमा १० हजार जना उतार्न सक्ने प्रहरी अधिकारीको अनुमान छ । ती प्रहरी अधिकारीले भने-‘हामीसँग काठमाडौंको प्रहरी फोर्स ६ हजार जनाको छ, तीमध्ये तत्काल केही प्रहरीहरु फिल्डमा हुन्छन् । आवश्यक परे थप फोर्स पनि फिल्डमा खटाउने भनेर तयारी अवस्थामा राखिएको छ ।’