केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वैशाख १६ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका फोकल पर्सन राम कुमार महतोका अनुसार सात जिल्लाका १०१ पालिकामा रहेका ५१ लाख नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

उनका अनुसार ५३ जिल्लामा समुदायिक स्तरको संक्रमण रोकिएकाले आम औषधि सेवन बन्द गरिएको छ । चार वटा जिल्लामा औषधि सेवन कार्यक्रम सकेर सर्भे भइरहेको छ ।

बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताउँदै महत्तोले समुदाय स्तरमा संक्रमण रोकिएको वा नरोकिएको भन्ने विषयमा १० महिनापछि अध्ययन हुने बताए ।

अभियानका लागि यस वर्ष सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ करोड रुपैयाँ स्थानीय निकायमा निकासा भइसकेको छ ।

आम हात्तीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टिन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल छन् ।

 

 

प्रकाशित : 26 April, 2024

प्रतिक्रिया दिनुहोस्