केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

सहयात्रा टिभी

काठमाडौं । वैशाख १९, घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ‘ए’ सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

५ खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरीमा छ ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन ।

पहिलो खेलमा नेपालका रोहित पौडेलले ११२ र दोस्रो खेलमा ७१ रन बनाएका थिए । रोहितबाहेक अन्य ब्याटर भने चल्न सकेका थिएनन् । आजको खेलको प्रदर्शनको आधारमा नेपालले केही खेलाडी टी२० विश्वकपमा छनोट गर्न सक्छ । विश्वकपमा पर्न सबै खेलाडीलाई यो अन्तिम अवसर हुनेछ ।

सुरुआती २ खेलमा बेन्चमा रहेका विकेटकिपर विनोद भण्डारी र आसिफ शेखले आज मौका पाउन सक्छन् । अनिल शाह र कुशल भुर्तेल दुबैलाई विश्राम दिने सम्भावना छ ।

नेपालले आज कमलसिंह ऐरी र आकाश चन्द दुबैलाई मौका दिएर हेर्नेछ । दोस्रो खेलमा २ छक्कासहित १७ रन जोडेका लोकेश बमले आजको खेलमा पनि मौका पाउन सक्छन् ।

दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ निकै महत्वपूर्ण हुनेछ । वेस्टइन्डिज ए का ब्याटरले स्पिन खेल्न संघर्ष गर्दै आएका छन् । नेपाल त्यो कमजोरीमा भरपूर्ण फाइदा उठाउन सक्छ ।

सुरुवाती २ खेलमा चल्न नसकेका जोनसान चार्ल्सलाई ठूलो इनिङको दबाब हुनेछ ।

भ्रमणबाट दुई खेलाडीलाई विश्वकपमा समेट्ने वेस्टइन्डिजले जनाएको छ । त्यसैले वेस्टइन्डिजका खेलाडीलाई पनि आजको खेल महत्वपूर्ण हुनेछ । चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार हुनेछ ।

प्रकाशित : 1 May, 2024

प्रतिक्रिया दिनुहोस्