केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सगरमाथा क्षेत्रमा फोहोर ओसारेर विश्वकै ठूलो ड्रोनको परीक्षण

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, सगरमाथा क्षेत्रको फोहोर ओसारेर विश्वकै ठूलो ढुवानी ड्रोनको परीक्षण भइरहेको छ ।

हाल पासाङ ल्हामु खुम्बु गाउँपालिकाले चिनियाँ कम्पनी डिजेआईलाई ड्रोनमार्फत फोहोर ढुवानीको अनुमति दिएको हो ।

गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले उपल्लो शिविरबाट आधार शिविरसम्म फोहोर ल्याउनका निम्ति ड्रोन परीक्षण भइरहेको बताए ।

डिजेआईको ‘फ्लाइकार्ट थर्टी’ ड्रोन विना भार ६ हजार मिटर माथिसम्म उडान गर्न सक्छ । यसले ४० केजी बराबरको भार बोक्न सक्छ । सिंगल ब्याट्रीमा ९ मिनेटभित्र ८ किलोमिटरको दुरी पार गर्नसक्छ, भने डबल ब्याट्रीमा १८ किलोमिटर दुरी पार गर्नसक्ने कम्पनीले जनाएको छ । ड्रोनलाई ३० केजी भार बोकाएको अवस्थामा ३ हजार मिटरको उचाइमा उड्न सक्छ ।

यसै साताबाट ड्रोन परीक्षण गरिएको हो । सोमबार ड्रोन ल्यान्ड हुन सकेको थिएन । मंगलबार भने ड्रोनले आधार शिविरबाट क्याम्प वानमा दुईवटा अक्सिजन सिलिन्डर पुर्‍याएर फर्किएको थियो । ड्रोनको परीक्षणका लागि कम्पनीबाट दुईजना प्राविधिक खटिएका छन् ।

नेपाली सेना तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिले त्यहाँको फोहोर मैला व्यवस्थापन गरिरहेका छन् । फोहोर संकलनमा ड्रोन प्रयोगको सम्भाव्यताका लागि भने गाउँपालिकाले पहल गरेको हो ।

हाल फोहोर संकलनका लागि परीक्षण भनिए पनि यसको प्रयोगबारे विभिन्न प्रश्न उठेका छन् । यसलाई आकस्मिक अवस्थामा प्रयोग गर्ने वा अत्यावश्यक सामग्री आपूर्तिका लागि प्रयोग गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ।

 

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्