केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई पुरस्कार

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ ।

सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो ।

सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ बाट शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् । यस्तै नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन)बाट लेना केशरी कंसाकार सम्‍मानित भएकी छिन् । उनी एनसेलकी चिफ टेक्नोलोजी अफिसर हुन् ।

यस्तै नेशनल आइसिटी नवप्रवर्द्धन अवार्ड वान प्वाइन्ट कम्पनीलाई प्रदान गरेको छ । कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ ।

वान पोइन्टले बनाएको एपीआई म्यानेजमेन्ट सिस्टमले एउटै प्लाटफर्मबाट सम्पूर्ण एपीआई र डिजिटल सेवाहरुलाई व्यवस्थापन र मोनिटरिङ गर्दै आएको छ ।

यस्तै नेशनल आइसिटी अवार्ड पब्लिक सेक्टरबाट सामाजिक सुरषा कोषले पाएको छ । सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने निकाय भएको भन्‍दै उक्त पुरस्कार दिइएको हो ।

यस्तै नेशनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट डाटा हबले पाएको छ । डेटा हबले नेपालमै पहिलो पटक डेटा सेन्टर स्थापना गरि साना तथा ठूला कम्पनीलाई डेटा सेन्टर सेवा प्रदान गर्दै आएको छ ।

डेटा हब प्रालि, नेपालको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा स्थापित डेटा हबको बुटवलमा डिजास्टर रिकभरी साइट रहेको छ ।

यसैगरी आइसिटी नेशनल आइसिटी अवार्ड प्रादेशिक पुरस्कार डाइनामिक टेक्नोसफ्ट नामक कम्पनीले पाएको छ । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक हो ।

 

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्