केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुर र भक्तपुरमा आगलागी, ७ जना घाइते

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २३, ललितपुर र भक्तपुरमा आगलागी हुँदा एकै परिवारका पाँचसहित सात जना घाइते भएका छन् ।

फाइल तस्वीर

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

मोबिल स्टोर रहेको टहरोमा भएको आलगागीमा भएको सुवेदीले बताए । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

भक्तपुरको ज्योति प्लाई कार्पेट उद्योगमा आगो लाग्दा करिब २ करोड क्षति

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा भएको आगलागीबाट झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति १२ बजे आगो लागेको थियो । आगो निभाउन भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल तथा चार वटा पानी ट्यांकर प्रयोग गरिएको थियो । नेपाल प्रहरीका ४७ जना र सशस्त्र प्रहरीको १३ जनाको टोली समेत खटिएका थिए ।

आज बिहान ४ बजे आगो नियन्त्रणमा लिइए पनि हालसम्म पनि पूर्णरुपमा ननिभेको भक्तपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले आगो लागेको स्थानबाट अहिले पनि धुवाँ आइरहेकाले दमकल र स्काभेटरको सहयोगमा आगो निभाउने काम जारी रहेको जानकारी दिए ।

आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् ।

यसैगरीको भारत घर घई उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भीर घाइते भएका छन् । उनलाई सुरुमा उपचार गर्न भक्तपुरको डा.ईवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि राति साढे १ बजे कीर्तिपुर अस्पताल लगिएको छ ।

आगलागीबाट १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतको टोली खटिएको छ ।

प्रकाशित : 5 May, 2024

प्रतिक्रिया दिनुहोस्