केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पनि हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २५,  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ ।

आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । वर्षाका कारण तुवालो हट्दै गएको र डढेलो पनि कम हुँदै गएको मौसमविदले जनाएको छ ।

गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्यूनीकरण पोर्टलमा देशका १८० स्थानमा मात्रै डढेलो लागेको देखिन्छ ।
केही हिजो बेलुका काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का पानी परेको थियो ।

गएको २४ घण्टामा काठमाण्डौमा २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै ताप्लेजुङ र धनकुटामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । आज र भोलि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने तथा अरु केहि ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

 

प्रकाशित : 7 May, 2024

प्रतिक्रिया दिनुहोस्