केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनास्लु क्षेत्रमा १५ वटा हिमचितुवा गणना गरीयो

सहयात्रा टिभी

काठमाडौं । वैशाख २६, गोरखाको मनास्लु क्षेत्रमा १५ वटाभन्दा बढी हिमचितुवा पाइएको छ । ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट अफ चेक एकेडेमी साइन्सले करिब ३ वर्ष लगाएर मनास्लु क्षेत्रमा हिमचितुवा गणना गरेको थियो ।

पहिलो पटक हिमचितुवाको गणना गरिएको हिमचितुवा गणनाको नेतृत्व डा विक्रम श्रेष्ठले गरेका थिए । श्रेष्ठले चुम र नुब्री भ्यालीमा १३ वटा वयस्क र २ वटा बच्चा गणना भएको जानकारी दिए । उनका अनुसार मनास्लु क्षेत्रमा भेटिएका चितुवा लोपन्मुख प्रजातिका हुन् ।

मनास्लु क्षेत्रमा पाइएका हिमचितुवा नेपालसहित एसियाको १२ वटा देशमा मात्र पाइने अध्ययन टोलीको निष्कर्ष छ । नुब्री भ्यालीमा सन् २०२० नोभेम्वर देखि २०२१ जनवरीसम्म हिमचितुवाको गणना गरिएको थियो ।

चुमभ्यालीमा भने २०२१ डिसेम्बरदेखि २०२२ फेब्रअरीसम्म गणना भएको थियो । चितुवाको संख्या गन्न उनीहरुले चुम र नुव्री दुवैतर्फ ६०/६० वटा क्यामेरा जडान गरेका थिए । कुल ६ सय वर्ग किलोमिटरसम्म कभर हुने गरी क्यामेरा जडान भएको श्रेष्ठले जानकारी दिए । ‘२५ सय देखि ५ हजारसम्म को हाइट भएको ठाउँमा क्यामेरा जडान गरेका थियौ’, उनले भने ।

श्रेष्ठका अनुसार चुमभ्याली तर्फ चुम्लिङदेखि मु गुम्वा–कालुङ र नुव्रीतर्फ बिहीदेखि साम्दोसम्म क्यामेरा जडान भएको थियो । उनले यसभन्दा अगाडी उक्त क्षेत्रमा हिमचितुवाको गणना नभएको जानकारी दिए । १५ वटा चितुवाको संख्यालाई अध्ययन टोलीले सन्तोषजनक मानेका छन् ।

प्रकाशित : 8 May, 2024

प्रतिक्रिया दिनुहोस्