केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘डढेलो नियन्त्रणमा सरकारबाटै प्रभावकारी कार्ययोजनाका काम हुन सकेन’

सहयात्रा टिभी

काठमाडौं । वैशाख २७, देशका विभिन्न वनमा डढेलो फैलिरहेको अवस्थामा सरकार र सम्बन्धित निकायले आवश्यक नीति तर्जुमा गर्दै प्रभावकारी कार्ययोजनाका साथ काम गर्न आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला महासंघ भक्तपुरले काठमाडौंमा आज आयोजना गरेको वन डढेलोविरुद्ध जनचेतना अभियान अन्तर्गत सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले डढेलोलाई सरकारी तवरबाटै गम्भीरतापूर्वक नलिएको भन्दै गुनासो गरे ।

कार्यक्रममा वन तथा वातावरण विज्ञ विजयराज पौडेलले वन डढेलो व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै डढेलो नियन्त्रणमा तालिम प्राप्त जनशक्ति, स्रोत साधन र बजेटको व्यवस्थापन हुन नसक्दा समस्या समाधानमा जटिलता देखिएको औँल्याए । नेपालका लागि अस्ट्रेलियन राजदूतावासको विकास प्रमुख कविथा कास्यनाथनले वन डढेलो नियन्त्रणमा अस्ट्रेलियाले प्राप्त गरेको अनुभव र विज्ञाताबारे साझेदारी गर्न अग्रसर रहेको जानकारी दिइन् । जलवायु परिवर्तनको असरले वन डढेलोलगायत विभिन्न समस्याको चुनौती अस्ट्रेलियाले सामना गर्नु परिरहेको र त्यसबाट प्राप्त अनुभव नेपालका लागि पनि उपयोगी हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

यस्तै वरिष्ठ पत्रकार तथा लेखक कृष्णमुरारी भण्डारीले डढेलो नियन्त्रणमा जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमहरुको पनि प्रभावकारी भूमिका हुने उल्लेख गर्दै कस्तो सूचना वा सन्देश सम्प्रेषण गर्ने भन्नेमा सम्बन्धित निकायबाटै आवश्यक पहल र वस्तुगत तथ्यांक आउनु पर्नेमा जोड दिए । तीनै तहका सरकारले यो विषयलाई अपनत्व लिन नसक्दा डढेलो नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको र समुदाय पनि जिम्मेवार बन्न नसकेको उनको टिप्पणी थियो ।

कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, पारिवारिक निजी वन संघ नेपालका प्रतिनिधि र सहभागी पत्रकारले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्