केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सीआईबीद्धारा बालमन्दिर जग्गा विवाद विषयको अनुसन्धान सुरु

सहयात्रा टिभी

काठमाडौं । वैशाख २७, नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषय केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेको छ । बालमन्दिरकोतर्फबाट आज बिहीबार जाहेरी परेसँगै सीआईबीद्धारा यसको औपचारिक अनुसन्धान सुरु गरेको छ ।

सीआईबी स्रोतले बिहीबार जाहेरी परेको पुष्टि गरे पनि कसको तर्फबाट क-कसलाई विपक्षी बनाउँदै जाहेरी परेको बारे भने केही खुलाएको छैन ।

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । उक्त जग्गा दुरुपयोग भएको भन्दै अहिले सीआईबीमा जाहेरी परेको हो ।

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानबाबाट समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रुपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

बिहीबार भने बालमन्दिरकोतर्फबाट जाहेरी परेसँगै औपचारिक रुपमा अनुसन्धान र मुद्दाको प्रक्रिया बढ्ने सीआईबीले जनाएको छ ।

बालअधिकारसम्बन्धी महासन्धिले उठाएका मुद्दाहरु लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग दाबी गरिएको छ ।

११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

 

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्