केपी ओली प्रचण्ड माधव नेपाल एमाले


 मुग्लिन–पोखरा सडकखण्ड निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड निर्माणमा ढिलाइ हुँदा वर्षामा सर्वसाधारणलाई सास्ती भएको छ ।

केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् ।

मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या बढेको स्थानीय बताउँछन् ।

मुग्लिन–पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन् । यो सडकमा धुलो र हिलोले सास्ती खेप्न थालेपछि सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् ।

सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट कलेस्ती, लमजुङको मध्य नेपालको दुइपिप्ले, न्यौपानेवेशी, कास्कीको रुपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्कन सकिन्छ ।

पृथ्वीराजमार्गको अवस्थाका कारण आजभोलि धेरैजसो साना तथा निजी सवारीसाधन यही बाटो हुँदै आवजावत गर्नेक्रम बढेको छ ।

पर्यटक बससमेत यही बाटो हुँदै पोखरा पुग्ने र पोखराबाट दमौली हुँदै काठमाडौ जाने गरेका छन् । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दूरी छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्दछ ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा केही प्रगति भए पनि पश्चिम खण्डमा प्रगति निराशाजनक छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म ५६ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २३ प्रतिशत प्रगति भएको पूर्वी खण्डका इञ्जिनियरले जानकारी दिए ।

पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

 

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्