कैलालीको गर्मीमा पनि फल्यो लटरम्म स्याउ
काठमाडौं । जेठ ३,अचम्म लाग्नसक्छ , तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा तर कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् ।
चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् ।
हर्मन ९९ जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । किसानले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन् ।
कैलालीमा पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गरेका छन् । विसं २०७८ माघमा भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन् ।
उनका अनुसार बिरुवा लगाएको दुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पॉच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।
विगतमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीमा बस्दै आएका ओली स्याउखेती गर्नका लागि कैलालीको प्रतापपुरमा आएका हुन् । उनले रु एक करोड ४६ लाखमा जमिन खरिद गरी स्याउखेती थालेका हुन् ।
सुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनले भने ।