ताइवानमा नवनिर्वाचित राष्ट्रपति लाईको कार्यकाल शुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, नवनिर्वाचित राष्ट्रपति विलियम लाईले आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

गएको जनवरी महिनाको दोस्रो हप्ता राष्ट्रपति पदमा निर्वाचित लाईले आज कार्यभार सम्हाल्नुभएको बीबीसीले जनाएको छ ।

कार्यभारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै उहाँले ताइवानलाई सैनिक र राजनीतिक धम्की नदिन चीनलाई चेतावनी दिनुभयो ।

उहाँले ताइवानी नागरिकको अभिमतलाई चीनले सम्मान गर्नुपर्ने बताउनुभयो । लाईले मध्य ताइपेईमा रहेको राष्ट्रपति कार्यालयबाहिर जम्मा भएको भीडलाई सम्बोधन गर्नुभएको हो ।

यसअघि उपराष्ट्रपति रहेका विलियमलाई ताइवान स्वतन्त्रता पक्षधर नेता मानिन्छ । यसअघि निर्वाचित भएको दिन समर्थकलाई सम्बोधन गर्दै उहाँले नागरिकले बाह्य दबाबको सफलतापूर्वक प्रतिरोध गरेको बताउनुभएको थियो ।

चीनले ताइवानलाई लामो समयदेखि आफूबाट छुट्टिएको प्रान्तका रूपमा हेर्ने गर्दछ । उसले ताइवानलाई कुनै पनि बेला आफूमा पुनः एकीकरण गरी छाड्ने दृढता व्यक्त गर्दै आएको छ ।

प्रकाशित : 20 May, 2024

प्रतिक्रिया दिनुहोस्