न्युरोड फुटपाथ विस्तारको विषयमा बालेन र वडाध्यक्ष चिनिकाजीबीच चर्काचर्की

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा न्युरोडमा महानगरले गरिरहेको फुटपाथ विस्तारको विषयमा मेयर बालेन साह र २२ नम्बर वडाका अध्यक्ष चिनिकाजी महर्जनबीच चर्काचर्की परेको छ ।

महर्जनले आफूलाई महानगरले ‘सौतेनी व्यवहार’ गरेको भन्दै आफ्नो क्षेत्रमा फुटपाथ विस्तार हुँदा पत्रिका पढेर थाहा पाउनुपर्ने बताए ।

बालेन : तपाईंको वडामा पत्रिका पढेर थाहा पाउनुभयो कि २४ नम्बर वडाको थाहा पाउनुभयो ? २४ नम्बर वडाध्यक्षले मान्छे फुटपाथमा हिँड्न गाह्रो भयो, पाकेटमार बढ्यो, यौन दुर्व्यवहार भयो, साँघुरो भयो भनेर फुटपाथ बढाउँदा तपाईंलाई के समस्या हो ?

महर्जन : मैले कहाँको कुरा गरिराछु, तपाईंले कहाँको कुरा गर्नुभयो ?

बालेन : २४ नम्बर वडाको कुरा हो ।

महर्जन : न्युरोड कहाँ पर्छ ? न्युरोडको भूगोल कहाँ पर्छ ? तपाईंलाई ज्ञान नभएको न्युरोड कहाँ पर्छ ?

बालेन : २४ नम्बर वडाको फुटपाथ बढाउँदा तपाईंलाई के समस्या ?

महर्जन : न्युरोड भनेको २४ नम्बर वडाको मात्रै हो ?

बालेन : २४ वडामा काम हुँदैछ, २२ को भएकै छैन, तपाईंलाई के समस्या भयो ?

महर्जन : तपाईंले प्रश्नको उठान कसरी गर्नुभयो ? त्यसोभए २२ नम्बर वडामा तपाईंले ठेक्का नराखेको हो ? २४ मात्रै काम गर्ने हो ?

बालेन : हो ।

महर्जन : तपाईंले योभन्दा अगाडि के भन्नुभएको थियो ? नयाँ सडक फुटपाथको काम गदिर्न भन्नुभएको होइन ?

बालेन : गर्दिन भनेकै छैन । सहकार्यमा गर्नुपर्छ भनेको हो । तपाईंसँग सल्लाह गरेर गरेको हो ।

महर्जन : मेयरसाबले सल्लाह कहाँ चाहिँ गर्नुभयो त ?

बालेन : फुटपाथ बढाउने भनेर तपाईंले हेरेकै हो । सबै वडाध्यक्षले हेरेकै हो र डिजाइन पनि हेरेकै हो । अहिले आएर कुरा फरक गर्न पाइँदैन नि !

महर्जन : के कुरा फरक पारेँ मैले ?

बालेन : दैनिक १ लाखभन्दा बढी हिँड्ने फुटपाथको साइज कत्रो चाहिन्छ थाहा छ तपाईंलाई ?

महर्जन : तपाईंलाई थाहा छ, तपाईं त प्राविधिक मान्छे, तपाईं नै भन्नुस न !

बालेन : कम्तीमा तीन मिटरभन्दा बढी हुनुपर्थ्यो । सडक विभागले नै बनाउनुपर्थ्यो, कालोपत्रे सात मिटरभन्दा बढी चाहिँदैन ।

महर्जन : सडक विभागले आपत्ति जनाइसकेको छ ।

प्रकाशित : 31 May, 2024

प्रतिक्रिया दिनुहोस्