प्रचण्डद्धारा अरुण तेस्रो जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं । जेठ २२, प्रचण्डद्धारा सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

सङ्खुवासभा, २२ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार अरूण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रु कार्यक्रममा उद्घाटन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
सुरुङको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान हुने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले अघिल्लो महिना आफूले काठमाडौं–नौबिसे सुरुङमार्ग र बहुद्देश्यीय मरिन डाइनर्सन परियोजनाको ‘ब्रेक थ्रु’ गरेको स्मरण गर्दै राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको अनुगमन र जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रव्यदृश्यका माध्यमबाट लिइरहेको जानकारी दिए ।
उक्त कार्यालयबाट आयोजना निर्माणमा देखिएको समस्या पहिचान गरी समाधानका निम्ति आवश्यक सहजीकरण हुँदै आएको उनले बताए ।
आगामी दिनमा यस्ता आयोजनाहरूको नियमित अनुगमन गरी कार्यतालिका नै बनाएर अगाडि बढ्ने सोच आफूले बनाएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजेन्द्र कार्की,लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका साथै मकालु गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षको उपस्थिति थियो ।