ढिलोचाँडो एमडीएमएस लागु गरेरै छाड्ने : सञ्चारमन्त्री शर्मा

काठमाडौं । जेठ २५, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छिन् ।
नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारदेखि राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सरकारले ढिलोचाँडो मोबाइलमा एमडीएमएस लागु गरेरै छाड्ने बताएकी हुन ।
‘एमडीएमएस लागु हुन्न भन्ने नसोचौं, ढिलोचाँडो लागु हुन्छ । यो प्रणाली लागु गर्ने प्रक्रियामा सरकार अघि बढे पनी तत्काल लागु गर्न नसकिएको हो, तर सरकार ब्याक भएको होइन,’ सञ्चारमन्त्री शर्माले भनिन्, ‘निकट भविष्यमा यो लागु हुन्छ, ढुक्क हुनुस्, यसले देशको राजस्वमा पनि योगदान गर्ने छ ।’
उनले प्रविधि विकास नभइसकेका कारण सरकारले अहिले नै एमडीएमएस लागु गर्न नसकेको भने स्वीकारिन् ।