जसपा नेपालको एकता अधिवेशन : आज उम्मेदवारी दर्ता

काठमाडौं । जेठ ३०, जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ ।
महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्न नेताहरू कसरत थालेका छन् ।
नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी छ ।
महासचिवमा उम्मेदवारी दिने शर्माको घोषणा
केहि दिनअगाडी मात्रै नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गरेका संविधानसभा सदस्य रामकुमार शर्मा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवले पनि उनलाई महासचिव बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याएका थिए ।
महाधिवेशनबाट यादव अध्यक्षमा पुनः दोहोरिने लगभग निश्चित छ । अशोक राईसहितका नेताहरू पार्टी विभाजन गरेर गएपछि चुनौतीविना यादव अध्यक्षमा दोहोरिनेछन् ।
सह-अध्यक्षको दाबेदार राजकिशोर यादव र लालबाबु राउत रहेको बुझिएको छ । ५ जना उपाध्यक्षमा पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई महासचिवमा शर्मा र मनिष सुमनलाई समेट्ने प्रयास भइरहेको एक नेताले सुनाए ।
उपमहासचिव, सचिव र कोषाध्यक्षका पनि धेरै नेताले लबिङ गरिरहेका छन् ।